पर्सा, ११ वैशाख — जिल्ला प्रशासन कार्यालय पर्साले सडक विस्तारका क्रममा भत्काइएका तथा जोखिमपूर्ण अवस्थामा रहेका घर–टहरामा व्यापार–व्यवसाय सञ्चालन नगर्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ।
सडक डिभिजन कार्यालय, हेटौँडाको कार्यक्रमअनुसार वैशाख ६ गते नेपाल–भारत मितेरी पुलदेखि गण्डक चौकसम्मका संरचनाहरू भत्काइएको थियो। प्रशासनका अनुसार अधिकांश घरधनीहरूले आफ्ना संरचना व्यवस्थापन गर्ने काम गरिरहेका भए पनि केही स्थानमा अझै भत्किएका तथा जोखिमयुक्त घर–टहरामा व्यवसाय सञ्चालन भइरहेको पाइएको छ।
यस्ता संरचनामा व्यवसाय सञ्चालन गर्दा घरधनी, व्यवसायी तथा सर्वसाधारणको ज्यानसमेत जोखिममा पर्न सक्ने भन्दै प्रशासनले तत्काल त्यस्तो कार्य रोक्न आग्रह गरेको छ।
चेतावनीलाई बेवास्ता गरी जोखिमयुक्त स्थानमा व्यवसाय सञ्चालन गरिएमा सम्भावित दुर्घटनाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित घरधनी स्वयंले वहन गर्नुपर्ने प्रशासनले जनाएको छ।
साथै, प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ।
