विराटनगर, वैशाख ११ गते
प्रहरीले लागू औषध गाँजा तथा प्रतिबन्धित औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
उदयपुर जिल्लामा सञ्चालन गरिएको नियमित चेकजाँचका क्रममा अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको टोलीले वैशाख १० गते बेलका नगरपालिका–८ क्षेत्रबाट प्र.०१–००१ ह १८८१ नम्बरको अटो जाँच गर्दा २७ किलोग्राम गाँजा बरामद गरेको हो। सोही अटोका चालक बेलका नगरपालिका–८ निवासी अशोक राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
यसैबीच, इलाका प्रहरी कार्यालय रानी तथा लागू औषध नियन्त्रण ब्यूरो, विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ बाट निट्राजेपाम ९० ट्याब्लेटसहित मोरङको सुन्दरहरैचा–२ निवासी २० वर्षीय सुदिप उराउलाई पक्राउ गरेको छ।
अर्कोतर्फ, इलाका प्रहरी कार्यालय उर्लावारी, मोरङले उर्लावारी–९ स्थित बलबहादुर श्रेष्ठको घरबाट विभिन्न प्रकारका लागू औषध क्याप्सुल १४० थान र ४८५ ट्याब्लेट बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।