आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलनमार्फत तरलता खिच्ने, १६० दिनका लागि बोलकबोल प्रक्रिया सुरु हुने

राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलनमार्फत तरलता खिच्ने, १६० दिनका लागि बोलकबोल प्रक्रिया सुरु हुने

41

काठमाडौं, ९ बैशाख — नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न पुनः निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।

बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षित रूपमा नबढ्दा तरलता अत्यधिक बढेपछि केन्द्रीय बैंकले १६० दिनका लागि उक्त रकम तान्ने तयारी गरेको हो। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकमा रकम राख्न बाध्य भइरहेका छन्।

राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत नियमित रूपमा बजारबाट रकम खिच्दै आएको छ।

यस प्रक्रियाअन्तर्गत बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। दीर्घकालीन निक्षेप संकलनको बाँडफाँट गर्दा प्रस्ताव गरिएको ब्याजदरका आधारमा सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। बोलकबोल प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ र ब्याजदर पनि सोही प्रक्रियाबाट निर्धारण गरिनेछ |

बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमभित्र पाँच करोड रुपैयाँको गुणनफलमा रकम प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।

१६० दिने उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आउँदो असोज २१ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा अधिकतम ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। सोही प्रावधानअनुसार राष्ट्र बैंकले समय–समयमा यस्तो उपकरण प्रयोग गर्दै आएको छ।