33
काठमाडौं, ९ बैशाख — यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न कडाइका साथ निर्देशन दिएको छ।
विभागले हालै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ तथा साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीको कानुनी अधिकारअनुसार दिइँदै आएको सहुलियत पूर्ण रूपमा लागू गर्न ताकेता गरेको हो।
विभागका अनुसार विद्यार्थी परिचयपत्रको आधारमा दिइने उक्त छुट कुनै पनि बहानामा रोक्न नपाइने स्पष्ट व्यवस्था छ। साथै, नियम पालना नगर्ने यातायात व्यवसायीलाई कारबाहीसमेत गरिने चेतावनी दिइएको छ।
सरकारले विद्यार्थीहरूलाई सहज, सस्तो र पहुँचयोग्य यातायात सेवा सुनिश्चित गर्न यो व्यवस्था प्रभावकारी रूपमा लागू गरिने जनाएको छ।