पोखरा, २३ चैत २०८२— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गैरकानुनी रूपमा आर्जित सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
अनुसन्धानबाट पौडेलले पदीय मर्यादा विपरीत कार्य गरी आर्जन गरेको रकमलाई वैध देखाउन नक्कली ऋण कागजात तयार गरी बैंक तथा वित्तीय संस्थामार्फत जटिल कारोबार सञ्चालन गरेको खुलेको छ। आयोगले दुई करोड ५८ लाख ६७ हजार ३ सय २४ रुपैया ५३ पैसा बराबरको सम्पत्ति शुद्धीकरण भएको पुष्टि गरेको जनाएको छ।
उक्त रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना माग गरिएको छ भने एक करोड ७० लाख १३ हजार ५० रुपैया ७७ पैसा जफत गर्न पनि माग गरिएको छ। यसअघि पनि पौडेलविरुद्ध छ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा विचाराधीन रहेको आयोगले जनाएको छ।
यस प्रकरणमा सहयोग गरेको आरोपमा हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोकाक्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत प्रतिवादी बनाइएको छ। उनीहरूलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको आयोगले जनाएको छ।