आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु

73

काठमाडौं, १९ चैत २०८२— गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजे प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल ले यही चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानबमोजिम संघीय संसद्को दुवै सदनको अधिवेशन आजका लागि आह्वान गरेका थिए।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद्का बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ। संघीय संसद्अन्तर्गतको माथिल्लो सभा राष्ट्रियसभाको बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।

संविधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच तथा एक स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ।