आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आजदेखि एसइई सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

आजदेखि एसइई सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

63

काठमाडौँ, १९ चैत २०८२— माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर एकसाथ सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

यस वर्षको परीक्षामा कुल ५ लाख १२ हजार ४७१ जना विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। देशभर १ हजार ९६५ र जापानमा १ गरी कुल १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

परीक्षामा सहभागी हुनेमध्ये सबैभन्दा बढी परीक्षार्थी काठमाडौँमा रहेका छन्। काठमाडौँका १३५ केन्द्रबाट ४१ हजार १५५ विद्यार्थी परीक्षा दिनेछन्। सबैभन्दा कम मनाङमा १ केन्द्रबाट ३७ विद्यार्थी सहभागी हुनेछन् भने जापानस्थित केन्द्रबाट २३ विद्यार्थी परीक्षा दिनेछन्।

यस वर्ष ६५ हजार ८९५ जना विद्यार्थी ग्रेड वृद्धिका लागि सहभागी हुँदैछन्। बोर्डले एक पटक असफल भएका विद्यार्थीलाई कम्तीमा तीन पटकसम्म परीक्षा दिने अवसर प्रदान गर्दै आएको छ।

प्रदेशगत रूपमा कोशीमा ८२ हजार ४८७, मधेसमा ९० हजार २४३, बागमतीमा १ लाख ९ हजार ५१३, गण्डकीमा ४३ हजार ९७२, लुम्बिनीमा ९१ हजार ८०२, कर्णालीमा ३९ हजार ७६९ र सुदूरपश्चिममा ५४ हजार ६३५ विद्यार्थी सहभागी हुनेछन्।

बालसुधार गृहमा रहेका विद्यार्थीलाई नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिने व्यवस्था मिलाइएको छ। सम्बन्धित केन्द्राध्यक्षले प्रश्नपत्र र उत्तरपुस्तिकासहित निरीक्षक पठाएर बालगृहमै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, अपाङ्गता भएका विद्यार्थीका लागि अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ। तीन घण्टाको परीक्षामा उनीहरूलाई थप १ घण्टा ३० मिनेट समय उपलब्ध गराइनेछ। लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थी रहनेछन्।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई बिहान ७:३० बजेसम्म परीक्षा केन्द्रमा पुग्न, प्रवेशपत्र र आवश्यक सामग्री साथमा ल्याउन तथा मोबाइललगायत निषेधित सामग्री नल्याउन आग्रह गरेको छ।

यस वर्ष एसइईको नतिजा एक महिनाभित्रै प्रकाशन गर्ने लक्ष्य राखिएको छ। सोका लागि परीक्षा भएको दिनमै परीक्षा केन्द्रमा उत्तरपुस्तिका जाँच गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमार्फत परीक्षा नियन्त्रण कार्यालयमा पठाउने व्यवस्था मिलाइएको छ।