काठमाडौं, शुक्रबार १३ चैत २०८२— नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक आज बसेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको हो।
बैठकमा नवनियुक्त मन्त्रीहरू तथा उच्चपदस्थ सरकारी सचिवहरूको उपस्थिति रहेको थियो। पदभार सम्हालेपछि प्रधानमन्त्री शाहले सरकारको प्राथमिकता, कार्यशैली र सुशासनको प्रतिबद्धताबारे स्पष्ट निर्देशन दिनुभएको छ।
उहाँले मन्त्री तथा सचिवहरूलाई जनताप्रति उत्तरदायी, पारदर्शी र परिणाममुखी कार्यसम्पादनमा जोड दिन आग्रह गर्नुभयो। साथै, प्रशासनिक ढिलासुस्ती अन्त्य गर्दै छिटो, प्रभावकारी र प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री शाहले विकास निर्माणका कामलाई तीव्रता दिन, भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न तथा नागरिकका दैनिक समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
