काठमाडौं, चैत १२ — मकवानपुरको हेटौंडास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत एक अधिकृत र एक बिचौलियाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अधिकृत छैटौं अमृत भेटुवाल र बिचौलिया भनिएका लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई नियन्त्रणमा लिएको थियो।
प्राप्त सूचना तथा उजुरीका आधारमा गरिएको कारबाहीका क्रममा पौडेलले सेवाग्राहीबाट रु. ११,५०० घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए। अनुसन्धानका क्रममा अधिकृत भेटुवाल र पौडेलबीच आपसी मिलेमतो तथा पूर्वयोजना रहेको खुल्न आएको छ।
सवारी सरुवा सहमति उपलब्ध गराउने नाममा सेवाग्राहीसँग बार्गेनिङ गरी उक्त रकम लिन सहमति भएको र सोही योजना अनुसार घुस लिइएको अख्तियारले जनाएको छ।
अख्तियारले अधिकृत अमृत भेटुवालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को (१) अनुसार रु. ११,५०० बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरेको छ। त्यस्तै, बिचौलिया खगेन्द्र पौडेलविरुद्ध पनि सोही ऐनको दफा ३ को (२) अनुसार समान बिगो कायम गरी कैद र जरिवानाको माग गरिएको छ।
उक्त प्रकरणमा दुवै जनाविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।