मोरंङ्, १३ चैत २०८२
पूर्वी नेपालका मोरङ, सुनसरी र झापा जिल्लाका १६ वटा कुखुरा फार्ममा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण पुष्टि भएपछि सरकारले प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्दै पक्षी तथा पक्षीजन्य सामग्रीको ओसारपसारमा तत्काल रोक लगाएको छ।
कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु चिकित्सक डा. दीपा दिवालीका अनुसार हालसम्म ६५ हजारभन्दा बढी कुखुरा र १ लाख २२ हजारभन्दा बढी अण्डा नष्ट गरिएको छ।
संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी निगरानी बढाइएको, फार्महरूमा जैविक सुरक्षा कडाइका साथ लागू गरिएको तथा किसानहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
यद्यपि बर्ड फ्लूको प्रकोपका कारण स्थानीय किसानहरू चिन्तित बनेका छन् भने उत्पादन नष्ट हुँदा ठूलो आर्थिक क्षति हुने र बजारमा अण्डा तथा मासुको आपूर्तिमा असर पर्ने सम्भावना देखिएको छ। सरकारले भने अवस्था नियन्त्रणमा ल्याउन आवश्यक सबै संयन्त्र परिचालन गरिएको जनाएको छ |