काठमाडौं, ८ चैत २०८२— अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरणमा पूर्वसचिवसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी लगायत २१ जनाविरुद्ध विशेष अदालत मा मुद्दा दायर गरेको जनाएको छ।
प्राधिकरणका अन्य वरिष्ठ इन्जिनियर, लेखा अधिकृतहरूका साथै ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र परामर्शदाता ईआरएमसी अ- नोटरस्टेल जेभी का प्रतिनिधिहरूलाई समेत प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार उक्त प्रकरणमा करिब ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। आयोगले विमानस्थल निर्माणका क्रममा परामर्श सेवा खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको ठहर गरेको जनाएको छ।