वीरगञ्ज, ८ चैत २०८२
वीरगञ्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा आज चैत ८ गते आइतवार भएको घटनाले शैक्षिक वातावरण तनावग्रस्त बनेको छ। क्याम्पसमा सञ्चालन हुने परीक्षा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै सडकमा उत्रिएका हुन्।
स्थानीय स्रोतका अनुसार, परीक्षा स्थगितररद्द गर्ने निर्णयप्रति असन्तुष्ट विद्यार्थीहरूले क्याम्पस प्रशासनविरुद्ध नाराबाजी गर्दै घण्टाघर चोक क्षेत्रमा चक्काजाम समेत गरेका थिए। प्रदर्शनका कारण केही समय यातायात सेवा प्रभावित भएको थियो।
विद्यार्थीहरूले क्याम्पसमा देखिएको शैक्षिक अव्यवस्था, व्यवस्थापन कमजोरी तथा निर्णय प्रक्रियामा पारदर्शिताको अभाव रहेको आरोप लगाएका छन्। उनीहरूले समस्या समाधान नगरे आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन्।
यसअघि पनि क्याम्पसमा विभिन्न प्रशासनिक तथा शैक्षिक समस्याहरू देखिँदै आएको र ती समस्याहरू समाधानका लागि विद्यार्थी संगठनहरूले पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए।
उल्लेखनीय रूपमा, हालै उच्च अदालतले हरि खेतान विद्यालय र क्याम्पसलाई एउटै भवनमा सञ्चालन नगर्न आदेश दिएपछि व्यवस्थापन सम्बन्धी विवाद थप चर्किएको देखिन्छ।
आजको घटनाले क्याम्पसको शैक्षिक र प्रशासनिक व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ। विद्यार्थी र प्रशासनबीच संवादमार्फत समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।
![]()