पर्सा, १० चैत २०८२ – पटेर्वा गाउँपालिकालाई कर्मचारी भर्ना सेन्टर बनाई करोडौ भुक्तानी गरेको रहस्य खुलेको छ | पटेर्वा सुगौली गाउँपालिका पर्सा ले नाम नै नभएको कर्मचारीको नाममा करोडौँ रकम भुक्तानी गरेको छ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र पालिकामा रहेका सम्बन्धित कर्मचारीको मिलेमतोमा गाउपालिका अन्तर्गत रहेका कर्मचारीको नाम नै उल्लेख नभएको करार कर्मचारीको नाममा नियम विपरित रु. २ करोड २३ लाख १ हजार ५५ रुपैया भुक्तानी गरेको छ |
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ अनुसार स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा आवश्यक दरबन्दी प्रस्ताव गरी सभाबाट स्वीकृत गराउनुपर्ने व्यवस्था भए पनि पटेर्वा सुगौली गाउँपालिकाले उक्त प्रक्रिया पूरा नगरी करार कर्मचारी नियुक्ति गरेको आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।
लेखापरीक्षण प्रतिवेदन अनुसार पालिकाले आर्थिक वर्ष २०८०-८१ मा गाउँपालिकामा विभिन्न १० पदमा ६१ जना कर्मचारीलाई करारमा नियुक्ति गरी उनीहरूको तलब भत्तामा रु. २ करोड २३ लाख १ हजार ५५ खर्च गरेको छ।
लेखा परिक्षणको समयमा लेखापरिक्षकले करार कर्मचारीको नामावली माग गर्दा पालिकाले नयाँ भर्ना भएका कर्मचारीहरूको नामावली पेश नभएको, करार कर्मचारीहरूसँग गरिएको सम्झौता पेश नभएको तथा दरबन्दीको व्यवस्थापन सर्वेक्षण नगरिएको कारण कर्मचारी पदपूर्ति प्रक्रिया सम्बन्धमा यकिन हुन नसकेको लेखापरीक्षण प्रतिवेदनले जनाएको छ।
त्यस्तै, करार कर्मचारीहरूको सम्झौता कागजात पेश नभएकाले उनीहरूलाई गरिएको तलब तथा भत्ता भुक्तानीको आवश्यकता र औचित्यसमेत सुनिश्चित गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ।
पटेर्वा सुगौली गाउँपालिका पर्साले दरबन्दी व्यवस्थापन सर्वेक्षण नगरेकाले कार्यालयमा कार्यरत विभिन्न करार कर्मचारीहरू वास्तवमै आवश्यक हुन् वा होइनन् भन्ने विषय पनि यकिन हुन नसकेको लेखापरीक्षणको निष्कर्ष छ।
यसरी जनताले तिरेको करबाट चलेको स्थानीय तह अन्तर्गत रहेको गाउँपालिकामा खुलेयाम रुपमा अनियमितता भइरहेको देखिन्छ | यस बिषयमा पालिकाले अनियमित रुपमा गरेको भुक्तानीको बिषयमा सम्बन्धित गाउँपालिकाबासी, सरोकारवाला पक्ष तथा सम्बन्धित निकायले छानबिन गरी सत्य तथ्य पता लगाउन आवश्यक छ |