बीरगञ्ज, ४ चैत — सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म बीरगञ्जले ठूलो परिमाणमा अवैध औषधि बरामद गरेको छ।
गएराति सशस्त्र प्रहरी निरीक्षक निरज थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले बीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा यात्रुवाहक बसहरूको नियमित जाँच गर्ने क्रममा बिलविजकविहीन औषधिहरू फेला पारेको हो।
बरामद गरिएको औषधिमा सिल्डिनाफिल ट्याब्लेट २,१०१ पत्ता, प्रेगआउट किट २६७ पत्ता तथा एरोसल स्प्रे १२५ वटा रहेका छन्। सशस्त्र प्रहरीका अनुसार ती औषधिहरूको अनुमानित मूल्य ६ लाख २६ हजार रुपैयाँभन्दा बढी रहेको छ।
प्रारम्भिक अनुसन्धानबाट बरामद औषधिहरू यौनवर्धक तथा गर्भनिरोधक प्रयोजनका रहेको खुलेको छ। बरामद गरिएका सम्पूर्ण औषधिहरू आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गुल्मपति डीएसपी विकास अधिकारीले जानकारी दिएका छन्।