आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ, १ करोड १६ लाख नगद बरामद

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ, १ करोड १६ लाख नगद बरामद

76

काठमाडौं, २ चैत । जिल्ला प्रहरी परिसर काठमाडौंले हुण्डी तथा अभौतिक मुद्रा कारोबारमा संलग्न दुई जनालाई नगद रकमसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार नागार्जुन नगरपालिका–८, भीमढुंगा क्षेत्रबाट हुण्डी तथा अभौतिक मुद्रा कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट १ करोड १६ लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८, भीमढुंगा घर भएका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद घिताल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका विभिन्न व्यक्तिको नाममा रहेका तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएको २७ लाख ३० हजार रुपैयाँ बराबरका तीन थान चेक, विभिन्न बैंकका चार थान एटीएम कार्ड, एक थान नागरिकता, दुई थान चार पाङ्ग्रे सवारी साधन, एक थान दुई पाङ्ग्रे सवारी साधन, तीन थान सवारी दर्ता किताब, विभिन्न कम्पनीका छ थान मोबाइल फोन, एनसेल र एनटीसीका ३९ थान सिमकार्ड तथा एक थान कम्प्युटर सेट बरामद गरेको छ।

त्यसैगरी, उनीहरूको बाइनान्स खातामा रहेको ७ हजार १ सय ७५ दशमलव ३४ यूएसडीटी समेत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।