आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पश्चिम एशियामा युद्धको प्रभाव: नेपालीको उद्धारका लागि दूतावासलाई सरकारको निर्देशन

पश्चिम एशियामा युद्धको प्रभाव: नेपालीको उद्धारका लागि दूतावासलाई सरकारको निर्देशन

88

काठमाडौँ, ३ चैत — युद्ध प्रभावित पश्चिम एशियाली देशहरूमा युद्धका कारण समस्यामा परेका नेपाली नागरिकहरूको अवस्थाबारे नेपाल सरकार सतर्क रहेको जनाएको छ। अधिकारीहरूका अनुसार हालसम्म कसैलाई पनि हवाईजहाजमार्फत् उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था भने नआएको बताइएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री भन्नुहुन्छ युद्धका कारण समस्यामा परेका नेपालीहरूलाई उनीहरूको आवश्यकता अनुसार व्यवस्थापन गर्ने काम भइरहेको बताउनुभएको छ । उनका अनुसार हालसम्म त्यस्तो अवस्था सिर्जना नभएकाले सरकार आफैँले विमान चार्टर गरेर उद्धार गर्नुपर्ने परिस्थिति भने आएको छैन।

मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले पश्चिम एशियामा रहेका तथा ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन विभिन्न नेपाली कूटनीतिक नियोगहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ।

सरकारले रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामावाद, कायरो र तेल अभिभस्थित नेपाली दूतावास तथा जेद्दा र दुबईस्थित महावाणिज्य दूतावासमार्फत् आवश्यक समन्वय र सहयोगको व्यवस्था मिलाउने निर्णय गरेको हो।

प्रवक्ता क्षेत्रीका अनुसार खाडी क्षेत्रका सबै देशहरूमा अवस्था समान छैन। “खाडीभित्र पनि सबै ठाउँको एउटै अवस्था छैन,” उनले भने, “त्यहाँको परिस्थिति र ट्रान्जिटमा रहेका नेपालीहरूको अवस्था हेरेर आवश्यक सहयोग उपलब्ध गराइनेछ।”

सरकारले सम्बन्धित देशहरूमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै दूतावासमार्फत् निरन्तर समन्वय र निगरानी गरिरहेको जनाएको छ।