विराटनगर, फागुन ३० — मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध तथा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक फार्मेसी संचालिका र दुई जना भारतीय नागरिक रहेका छन्।
प्रहरीका अनुसार फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थित शिवमहिमा मेडिकल हलमा प्रतिबन्धित लागूऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले फार्मेसीमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा फार्मेसीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त लागूऔषधसहित फार्मेसी संचालिका मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल औरावनीमा डेरा गरी बस्दै आएकी ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच मोरङको विराटनगर–३ बरगाछी चोकबाट भारतको अररिया जिल्लाका पृथ्वी कुमार सिंह र कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।