पर्सा, ३० फागुन — शुक्रबार राति आएको तीव्र हावाहुरीका कारण पर्साको सखुवा प्रसौनी गाउँपालिकाका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भयो । गाउँपालिकाका वडा न. ५ महुवन, वडा न. ४ सोलखपुर र गुलवरिया क्षेत्रमा हावाहुरीका कारण बिजुलीका पोल र रुख ढलेपछि विद्युत आपूर्ति बन्द भएको हो।
सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव का अनुसार शुक्रबार राति अचानक आएको हावाहुरीले केही स्थानमा विद्युतका पोल ढाल्नुका साथै रुखहरू पनि सडकमा ढलेका कारण बाटोसमेत अवरुद्ध भएको थियो। पोल र तार सडकमा खसेपछि बिद्युत आपूर्ति बन्द भएर कठिनाइ भएको थियो।
बिद्युत अवरुद्धबारे जानकारी पाएपछि सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवको पहलमा प्रहरीको सहयोगसहित तत्काल लाइन जोड्ने तथा सडकबाट पोलहरु हटाएर सरसफाइको काम सुरु गरिएको थियो। ढलेका रुख र पोल हटाई सडक खुलाइएपछि बिद्युत आपूर्ति पुनः सुचारु भएको र आवागमन पनि पुनः सुचारु भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष यादवले प्रहरीको समन्वयमा सडक तथा विद्युत लाइन व्यवस्थापन गर्ने काम राति नै गरिएको जानकारी दिए। विद्युत सेवा पनि क्रमशः सुचारु भएको जनाइएको छ।
