आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बागमती प्रदेशमा मन्त्रालय घटाउने प्रस्ताव, ७०१ दरबन्दी कटौती गर्न समितिको सुझाव

बागमती प्रदेशमा मन्त्रालय घटाउने प्रस्ताव, ७०१ दरबन्दी कटौती गर्न समितिको सुझाव

66

काठमाडौं, २८ फागुन – बागमती प्रदेशमा मन्त्रालय संख्या घटाउने र कर्मचारी दरबन्दी कटौती गर्ने प्रस्ताव गरिएको छ। प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले मुख्यमन्त्रीलाई बुझाएको प्रतिवेदनमा प्रदेश सरकारलाई मन्त्रालय संख्या घटाएर आठवटा मात्र कायम गर्न सुझाव दिइएको हो।

समितिका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित जम्मा आठ वटा मन्त्रालय पर्याप्त हुने निष्कर्ष निकालिएको छ। प्रतिवेदनमा बाँकी सात वटा मन्त्रालयलाई विभागीय जिम्मेवारीसहित पुनःसंरचना गर्ने प्रस्ताव पनि समेटिएको छ।

त्यसैगरी प्रदेश सरकारको प्रशासनिक संरचना थप चुस्त बनाउन हाल रहेको ७०१ कर्मचारी दरबन्दी कटौती गर्न पनि समितिले सिफारिस गरेको छ।
प्रदेश प्रशासनलाई प्रभावकारी, चुस्त र खर्च नियन्त्रणमुखी बनाउने उद्देश्यका साथ उक्त अध्ययन गरिएको समितिले जनाएको छ।

प्रशासनिक पुनर्संरचनाका लागि उच्चस्तरीय निर्देशक समितिको गत कात्तिक ११ गते बसेको बैठकले नेपाल सरकारका पूर्व सचिवहरू सम्मिलित विज्ञ टोली गठन गरेको थियो। सो टोलीले अध्ययन तथा विश्लेषणपछि आफ्नो सुझावसहितको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको हो।
समितिको सुझाव कार्यान्वयन भएमा प्रदेश सरकारको प्रशासनिक संरचना सानो, व्यवस्थित र खर्च कम हुने अपेक्षा गरिएको छ।