पर्सा, २८ फागुन — जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा पेट्रोलियम पदार्थ तथा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा नेपाल आयल निगम तथा ग्यास विक्रेता संघ र उद्योगीहरूले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा ग्यास, डिजेल र पेट्रोलको मौज्दात पर्याप्त रहेको जनाइएको छ। साथै यी पदार्थहरूको आयात पनि नियमित रूपमा भइरहेको कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार जिल्लामा खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको अभाव नभएको र निकट भविष्यमा पनि अभाव हुने सम्भावना नदेखिएको बताइएको छ।
प्रशासनले अनावश्यक रूपमा ग्यास, डिजेल र पेट्रोल जम्मा नगर्न तथा कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्तै डिजेल र पेट्रोल खुल्ला रूपमा बोतल, ड्रम वा ग्यालनमा बिक्री–वितरण नगर्न पनि सम्बन्धित सबैलाई निर्देशन दिइएको छ।
सम्बन्धित सबैलाई जानकारी गराउने उद्देश्यले उक्त सूचना सार्वजनिक गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
