काठमाडौं, २८ फागुन — केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामप्रति प्रतिक्रिया जनाउँदै जनताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री ओलीले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको उल्लेख गरेका छन्। उनले पार्टीले पनि अपेक्षित नतिजा ल्याउन नसकेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको सन्देशमा उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भएकाले त्यसलाई शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको बताएका छन्। जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने उनले उल्लेख गरेका छन्।
ओलीले कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर आफ्नो पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो,” उनले सन्देशमा उल्लेख गरेका छन्।
निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने ओलीले बताएका छन्। आगामी दिनमा पनि जनताकै बीचमा रहेर जनताकै लागि काम गरिरहने र जनतासँगको विश्वासको सम्बन्ध अझ बलियो बनाउँदै अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै मत दिएर साथ, सहयोग र विश्वास गर्ने सम्पूर्णप्रति उनले हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।