काठमाडौँ, २४ फागुन – भाद्र २३ र २४ गते काठमाडौँ लगायत विभिन्न स्थानमा भएको जेन जी आन्दोलनका क्रममा घटित घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा गठित छानबिन आयोगका पदाधिकारीहरू आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएका हुन्।

आन्दोलनका क्रममा भएका घटनाक्रम, सुरक्षा व्यवस्थापन, प्रदर्शनकारी र राज्य पक्षबीच भएका गतिविधि तथा सम्भावित कमजोरीहरूको अध्ययन गर्दै आयोगले प्रतिवेदन तयार पारेको बताइएको छ।
सरकारले भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा देखिएका विभिन्न घटनाको यथार्थ तथ्य सार्वजनिक गर्न र जिम्मेवारी निर्धारण गर्न आयोग गठन गरेको थियो। आयोगले सम्बन्धित पक्षसँग छलफल, तथ्य संकलन तथा घटनास्थलको अध्ययनपछि प्रतिवेदन तयार गरेको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिवेदन अध्ययनपछि आवश्यक निर्णय र कार्यान्वयनका विषयमा थप कदम चालिने जनाएको छ।
सरकारले आयोगको प्रतिवेदनका आधारमा घटनासँग सम्बन्धित विषयहरूमा सत्यतथ्य बाहिर ल्याउँदै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ |
