आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पर्सामा नेपाली कांग्रेसका जिल्ला सदस्य रामनिवास यादवद्वारा राजीनामा

पर्सामा नेपाली कांग्रेसका जिल्ला सदस्य रामनिवास यादवद्वारा राजीनामा

93

पर्सा, २३ फागुन — नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य रामनिवास यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्। हालै सम्पन्न निर्वाचनको परिणामपछि नैतिक जिम्मेवारी लिँदै उनले जिल्ला सदस्य पदबाट राजीनामा दिने निर्णय गरेका हुन्।

यादवले सामाजिक संजाल फेसबुक मार्फत शनिबार पार्टी नेतृत्वलाई सम्बोधन गर्दै लेखेको पत्रमार्फत आजकै मितिबाट पद त्याग गर्ने घोषणा गरेका हुन्। लामो समयदेखि पार्टीको विचार, सिद्धान्त र लक्ष्यप्रति विश्वास राख्दै सक्रिय कार्यकर्ताका रूपमा काम गर्ने अवसर पाएकोमा उनले पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।

राजीनामा पत्रमा उनले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीलाई आत्ममूल्याङ्कन गर्ने अवसर दिएको उल्लेख गरेका छन्। पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको परिस्थितिमा आफूले एक जिम्मेवार सदस्यको नाताले नैतिक जिम्मेवारी महसुस गर्दै पद त्याग्ने निर्णय गरेको बताएका छन्।

यादवले राजनीति समाज परिवर्तनको महत्वपूर्ण माध्यम भएको विश्वास आफूमा सधैँ रहने उल्लेख गर्दै अब सक्रिय राजनीतिभन्दा केही पर रहेर व्यक्तिगत जीवन र समाजसेवाका अन्य क्षेत्रमार्फत योगदान गर्ने सोच बनाएको बताएका छन्।

रामनिवास यादव ले पार्टीप्रति आफ्नो सद्भाव, सम्मान र शुभेच्छा सधैँ कायम रहने बताउँदै आगामी दिनमा पार्टी अझ सशक्त भएर जनताको विश्वास जितोस् भन्ने कामना पनि व्यक्त गरेका छन्।

यादव हाल नेपाली कांग्रेस पर्साका जिल्ला सदस्यका रूपमा कार्यरत थिए। उनले आफ्नो राजनीतिक यात्रामा साथ दिने नेता, सहकर्मी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै पदबाट अलग हुने घोषणा गरेका हुन्।