आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आज प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै, देशभर बिहान ७ बजेदेखि मतदान

आज प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै, देशभर बिहान ७ बजेदेखि मतदान

96

काठमाडौं, २१ फागुन —आज फागुन २१ गते देशमा प्रतिनिधिसभा निर्वाचन हुदैछ | जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ। देशभरका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने भएको हो।

देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो।

आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुँदैछ। प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। प्रत्यक्ष प्रणालीअन्तर्गत तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा छन्।

समानुपातिक प्रणालीतर्फ भने एक हजार ३ सय ६३ पुरुष र एक हजार ७ सय ७२ महिला गरी कुल तीन हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोग ले जनाएको छ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता रहेका छन्। साथै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम गरिएको आयोगले जनाएको छ।

निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १ सय ४३ अस्थायी मतदानस्थल पनि तय गरिएका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।

सुरक्षाका दृष्टिले ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, एक हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचन सम्पन्न गराउन दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ।

आयोगका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल चार करोड २२ लाख ५१ हजार २ सय मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्‍याइसकिएको छ।

यस पटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय तथा ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन्।
यसैबीच, रामचन्द्र पौडेल, रामसहायप्रसाद यादव, सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले मतदातालाई उत्साहपूर्वक निर्वाचन प्रक्रियामा सहभागी भई मतदान गर्न आह्वान गरेका छन्।