वीरगञ्ज, २० फागुन — आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले वीरगञ्जमा सञ्चालन गरेको विशेष सर्च अभियानका क्रममा तीन जना पक्राउ परेका छन्। सुरक्षा निकायले उक्त अपरेशनलाई महत्वपूर्ण सफलताका रूपमा लिएको जनाएको छ।
गएराति करिब २ बजेतिर श्रीजंग गण वीरगञ्जको नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वा क्षेत्रमा विशेष सर्च अपरेशन सञ्चालन गरिएको थियो। सो क्रममा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा वीरगञ्ज–१६ निवासी कृष्ण यादव, सोही ठाउँका रोहित पटेल र अवजित यादव रहेका छन्। उनीहरूको साथबाट ९ थान सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर, सेतो रंगको ५ वटा तार तथा सुंगुरको टाउको बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार बरामद गरिएका सामग्री धार्मिक सद्भाव खल्बल्याउने तथा निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यसहित प्रयोग हुन सक्ने देखिएको सुरक्षा स्रोतले जनाएको छ।
निर्वाचनको समयमा कुनै पनि प्रकारको साम्प्रदायिक वा अराजक गतिविधि हुन नदिन सेना पूर्ण रूपमा सतर्क रहेको उपसेनानी मरहठ्ठाले बताए। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
