आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मोज्तबा खामेनी इरानका नयाँ सर्वोच्च नेता चयन

मोज्तबा खामेनी इरानका नयाँ सर्वोच्च नेता चयन

70

तेहरान, २० फागुन – अली खामेनी को निधनपछि उनका छोरा मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेतामा चयन भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८८ सदस्यीय Assembly of Experts ले उनलाई निर्वाचित गरेको हो।

गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायल ले गरेको आक्रमणमा अली खामेनीको मृत्यु भएको बताइएको छ। सुरक्षा संवेदनशीलताका कारण विज्ञ सभाका सदस्यहरूले टाढैबाट मतदान गरेका थिए।

यसक्रममा इजरायलले मंगलबार कोमस्थित विज्ञ सभाको भवनमा हवाई आक्रमण गरी प्रक्रिया अवरुद्ध गर्ने प्रयास गरेको जनाइएको छ। त्यतिबेला भवनमा कोही उपस्थित नभएकाले मानवीय क्षति नभए पनि संरचना पूर्ण रूपमा ध्वस्त भएको खबर छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दिवंगत नेता खामेनीको अन्त्येष्टि मशादस्थित इमाम रेजाको दरगाह नजिकै गरिने भएको छ। अन्त्येष्टि सम्पन्न भएपछि मात्र नयाँ नेताको निर्वाचन औपचारिक रूपमा घोषणा गरिने बताइएको छ।

युद्धका क्रममा इरानी रेड क्रिसेन्ट सोसाइटी ले पछिल्लो चार दिनमा इरानका १५३ सहरका ५०४ स्थानमा १,०३९ पटक आक्रमण भएको जनाएको छ। ती हमलामा ७८७ जनाको मृत्यु भएको र ठूलो संख्यामा घाइते भएको उल्लेख छ। अमेरिकाले पनि आफ्ना ६ सैनिक मारिएको पुष्टि गरेको छ।

जारी द्वन्द्वमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण जारी राखेका छन् भने इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा र दूतावासलाई लक्षित गर्दै प्रतिआक्रमण गरिरहेको जनाएको छ। इजरायलमाथि पनि इरानले हमला गरेको र तेहरानबाट गरिएको आक्रमणमा दर्जनौँको मृत्यु तथा सयौँ घाइते भएको समाचारहरूमा उल्लेख छ।

इरानले Strait of Hormuz पूर्ण रूपमा बन्द गरेको दाबी गरेको छ। साथै, अमेरिकी सेन्ट्रल फोर्सका कमान्डरले भिडियो सन्देशमार्फत युद्ध सुरु भएदेखि १७ इरानी सैन्य जहाज र एउटा पनडुब्बी नष्ट गरिएको बताएका छन्।

उक्त दाबीअनुसार हाल अरब खाडी, स्ट्रेट अफ होर्मुज वा ओमान स्ट्रेट क्षेत्रमा कुनै पनि इरानी सैन्य जहाज बाँकी नरहेको उल्लेख गरिएको छ।
यसबीच, इरानले हालसम्म ५०० भन्दा बढी ब्यालिस्टिक मिसाइल र २,००० ड्रोन प्रहार गरिसकेको जनाएको छ। क्षेत्रीय तनाव चुलिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न कूटनीतिक पहल तीव्र बनाउने संकेत दिएका छन्।