झापा,२० फागुन – आगामी निर्वाचनको सन्दर्भमा मुलुककै ध्यान तानिएको झापा क्षेत्र नम्बर ५ यतिबेला सुरक्षा दृष्टिले विशेष निगरानीमा राखिएको छ। प्रमुख राजनीतिक प्रतिस्पर्धाका कारण संवेदनशील मानिएको यस क्षेत्रमा नेपाली सेना ले उच्च सतर्कता अपनाउँदै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले सेनाले माघ २१ गतेदेखि दमकमा कमान्ड पोस्ट स्थापना गरेको छ। गौरादहदेखि गौरीगञ्जसम्म करिब २ सय ५० भन्दा बढी सैनिक परिचालन गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ। जमिनमा बख्तरबन्द सवारीसाधनमार्फत गस्ती तथा आकाशबाट हेलिकप्टरद्वारा निगरानी (हवाई रेकी) सञ्चालन गरिएको छ।
झापा–५ मा केपी शर्मा ओली र बालेन शाह बीचको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ। सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै तीन तहको सुरक्षा घेरा बनाइएको छ, जसअन्तर्गत तेस्रो घेरामा सेनाले जिम्मेवारी सम्हाल्नेछ।
सेनाले मतदान केन्द्र, मतपेटिका ढुवानी, र मतगणना स्थलको सुरक्षामा चौबीसै घण्टा निगरानी राख्ने जनाएको छ। साथै, बम डिस्पोजल टोलीलाई पनि उच्च सतर्कतामा राखिएको छ। आवश्यक परेमा तत्काल कदम चाल्ने स्पष्ट निर्देशन रहेको सुरक्षा निकायले जनाएको छ।
सेनाले लोकतान्त्रिक प्रक्रियामा कुनै अवरोध सह्य नहुने स्पष्ट पार्दै निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। स्थानीय प्रशासन र अन्य सुरक्षा निकायसँगको समन्वयमा सम्पूर्ण सुरक्षा संयन्त्र सक्रिय अवस्थामा रहेको बताइएको छ।