हेटौडा, १२ फागुन –यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवाल घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सवारी सरुवा सहमति गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिएको भन्ने सूचना तथा उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले विचौलियाको भूमिका खेलेको आरोपमा लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई पनि पक्राउ गरेको जानकारी दिए। पौडेलले सेवाग्राहीबाट ११ हजार पाँच सय रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ।
टोलीले हेटौंडा उपमहानगरपालिका–११ स्थित कार्यालय परिसरबाट उनीहरुलाई तीन थान मोबाइल सेटसहित नियन्त्रणमा लिएको हो।
आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
साथै मकवानपुर जिल्लास्थित उक्त कार्यालयमा सेवाप्रवाहसँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान अघि बढाइएको बताइएको छ।