काठमाडौं, १३ फागुन — आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै मतपत्र ढुवानीसहित समग्र सुरक्षा व्यवस्थामा यसपालि नेपाली सेनाको भूमिका बढाइएको छ। विगतका निर्वाचनहरूमा मतपत्र ढुवानीको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मात्र परिचालन हुने गरे पनि यसपटक ‘असामान्य परिस्थिति’ का कारण सेनालाई समेत प्रत्यक्ष जिम्मेवारी दिइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन्।
केन्द्रीय सुरक्षा समितिबाट पारित ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अनुसार सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रहरीलाई देशभर परिचालन गरिएको छ। सेनाका अनुसार निर्वाचन सुरक्षाका लागि करिब ८० हजार सैनिक खटाइसकिएको छ।
गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीबाट करिब ७१ हजार सुरक्षाकर्मी परिचालन भइसकेका छन्। मतदानस्थलको भित्री सुरक्षा व्यवस्थापनको जिम्मेवारी नेपाल प्रहरीले पाएको छ भने मतदानस्थल वरिपरि निर्वाचन प्रहरीले सहयोग गर्नेछन्।
दोस्रो घेराको सुरक्षा व्यवस्थापन सशस्त्र प्रहरी बलले सम्हाल्नेछ, जसका लागि करिब ३५ हजार सुरक्षाकर्मी खटाइँदै छन्। बाहिरी सुरक्षा घेराको जिम्मेवारी भने नेपाली सेनाले लिएको छ। आवश्यक परे चारै सुरक्षा निकायबाट खटिएका जनशक्तिको संयुक्त कमान्ड लिने अधिकारसमेत सेनालाई दिइएको जनाइएको छ।