इटहरी, १२ फागुन – पूर्व गृहमन्त्री एवम राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेस सभापति गगन थापाको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन ।
मंगलबार इटहरीमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै लामिछानेले विकासमा कानुन बाधक भएको गगन थापाको भनाइप्रति कटाक्ष गर्दै लामो समय सत्ता र शक्तिमा रहेका नेताहरूले अहिले आएर कानुनलाई दोष दिनु हास्यास्पद भएको टिप्पणी गरे। उनले “२० वर्ष सांसद र मन्त्री भइसकेपछि बल्ल १२, १५ वटा कानुन फेर्नुपर्ने देख्नु भएको हो भने त्यो ज्ञान आफैंसँग राख्नुस्” भन्दै व्यंग्य गरे।
केही दिनअघि रास्वपाका वरिष्ठ नेता बालेन शाहले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने आशय व्यक्त गरेपछि त्यसको आलोचना गर्दै थापाले विकासका लागि ४१ वटा कानुन बाधक रहेको बताएका थिए।
सर्लाहीमा आयोजित कार्यक्रममा थापाले चाबुक वा डर देखाएर विकास सम्भव नभएको उल्लेख गर्दै विधिको शासन अनुसार कानुनी सुधार आवश्यक रहेको तर्क गरेका थिए। सोही प्रसंगलाई लक्षित गर्दै लामिछानेले रास्वपाले कसैलाई भौतिक रूपमा बाँध्ने नभई कानुनको दायरामा ल्याउने नीति रहेको स्पष्ट पारे। “हामीले मान्छेलाई डोरीले होइन, कानुनले बाँध्ने भनेका हौँ, अब निर्माण व्यवसायीले विज्ञप्ति होइन, काम गरेर देखाउनुपर्छ,” उनले भने।
सभामा लामिछानेले २०४६ सालपछि भएका सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने प्रतिबद्धता दोहोर्याउँदै पुराना दलहरूले एकअर्कालाई जोगाएको आरोपसमेत लगाए। रास्वपाको नेतृत्वमा सरकार बने कसैलाई पनि नछोडिने चेतावनी दिँदै उनले “प्रतिशोधका लागि होइन, हिसाब माग्न आउँदैछौँ” भन्ने सन्देश दिएका थिए।