वीरगंज पर्सा, १२ फागुन – नेपाली कांग्रेस क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा वीरगञ्ज महानगरपालिका–१२ मुर्लीमा सम्पन्न घरदैलो कार्यक्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको स्तरोन्नति लगायतका विषयमा आफ्नो एजेण्डा प्रस्तुत गर्नुभएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्यले रुङटालाई सक्षम, इमान्दार र विकासमुखी नेतृत्व भएको औँल्याउँदै पर्सा–१ को समग्र विकास, सुशासन र पारदर्शी शासन प्रणाली कायम गर्न मतदातालाई उहाँको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो।
घरदैलोमा स्थानीय नेता, कार्यकर्ता र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने मतदाताहरूले खानेपानी अभाव, सडक पूर्वाधार सुधार, ढल निकास व्यवस्थापन र भ्रष्टाचार नियन्त्रण जस्ता समस्याहरू उठाएका थिए।
प्रतिनिधि सभा सदस्य उम्मेदवार पर्सा क्षेत्र न. १ का अनिल रुङटाले यी चुनौतीहरूको दीर्घकालीन समाधानका लागि स्पष्ट योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो र टोल–टोलमा ज्येष्ठ नागरिक, महिला, युवा र व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै जनविश्वास थप मजबुत बनाउँदै जानुभएको छ।
यससँगै क्षेत्र नं. १ मा चुनावी माहोल क्रमशः ततिँदै गएको देखिएको छ र रुङटाको अभियानले विकास र सुशासनलाई जोडेर क्षेत्रको भविष्य सुरक्षित बनाउने लक्ष्यलाई प्राथमिकता दिएको कार्यक्रममा उपस्थित नेताहरुले बताए ।