काठमाडौं, १२ फागुन — निर्वाचन आयोगमा निर्वाचन सुरक्षासम्बन्धी समग्र अवस्थाको समीक्षा गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक मंगलबार जारी रहेको छ। पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएका झडप तथा तनावपूर्ण घटनालाई मध्यनजर गर्दै बैठक बोलाइएको हो।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भइरहेको बैठकमा गृह सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको आयोग स्रोतले जनाएको छ।
बैठकमा आसन्न निर्वाचनको सुरक्षा तयारी, देशभरको वर्तमान सुरक्षा अवस्था तथा सम्भावित जोखिम क्षेत्रहरूको विस्तृत समीक्षा भइरहेको छ। विशेषगरी संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएका स्थानहरूमा थप सुरक्षाकर्मी परिचालन, निगरानी वृद्धि तथा समन्वय मजबुत बनाउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
हालै रौतहट र वीरगञ्जसहित मधेस प्रदेशका केही स्थानमा भएका झगडा तथा झडपका घटनालाई आयोगले गम्भीरतापूर्वक लिएको छ। ती घटनापछि स्थानीय सुरक्षा अवस्थाबारे थप जानकारी संकलन गरी आवश्यक रणनीति तय गर्न बैठकले प्राथमिकता दिएको छ।
बैठकबाट देशभर शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थासम्बन्धी महत्वपूर्ण निर्णयहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।