आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्जमा कर्फ्यु, सर्वसाधारणलाई घरमै बस्न आग्रह

वीरगञ्जमा कर्फ्यु, सर्वसाधारणलाई घरमै बस्न आग्रह

58

वीरगंज, ११ फागुन – पर्सा जिल्लामा पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको निश्चित क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार आज मिति २०८२ फागुन ११ गते बिहान ९: ४५ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशमा तोकिएको चार किल्लाभित्र कसैले पनि आवतजावत गर्न, कुनै प्रकारका सभा, बैठक, जुलुस, प्रदर्शन तथा भेला गर्न नपाउने उल्लेख गरिएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्रको सीमाना पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट तोकिएको प्रशासनले जनाएको छ।

यद्यपि आदेश अवधिभर अत्यावश्यक सेवामा संलग्न सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पूर्व निर्धारित विश्वविद्यालय परीक्षामा सहभागी परीक्षार्थी तथा परीक्षा केन्द्रका कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकट भएका यात्रुको आवागमनमा सुरक्षा निकायबाट सहजीकरण गरिने बताइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा पालना गरी शान्ति सुरक्षामा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।