धादिङ्ग, ११ फागुन – धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार धादिङ जिल्ला अन्तर्गत बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी राजमार्ग खण्डमा सोमबार राति करिब साढे १ बजे दुर्घटना भएको हो। पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई त्रिशूली नदी किनारमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो। साथै नेपाल प्रहरी र नेपाल सेना का टोलीहरू पनि उद्धार कार्यमा खटिएका थिए।
दुर्घटनामा मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको जनाइएको छ। रातिको समय र बस नदी किनारमा खसेकाले उद्धार कार्यमा कठिनाइ भएको प्रहरीको भनाइ छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतक तथा घाइतेको सनाखत प्रक्रिया जारी रहेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।