दोलखा, ९ फागुन — पुष्पकमल दाहालले आगामी निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टी पुनः देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
दोलखामा मतदातासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले निर्वाचन नै पार्टी र जनताको लागि सबैभन्दा सहज तथा प्रभावकारी राजनीतिक मार्ग भएको बताए। उनले निर्वाचन केवल विकल्प मात्र नभई जनतालाई संगठित र परिचालित गर्ने महत्वपूर्ण माध्यमसमेत रहेको उल्लेख गरे।
दाहालले देशव्यापी रूपमा पार्टीले प्रचारअभियान तीव्र गतिमा अघि बढाइरहेको जानकारी दिँदै बाँकी १२ दिन युद्धस्तरमा काम गर्न सके पुनः देशको नम्बर एक राजनीतिक शक्ति बन्न सकिने विश्वास व्यक्त गरे।
उनले सबै राजनीतिक दलहरू निर्वाचन प्रक्रियामा सहभागी भइसकेको र जनताले पनि निर्वाचनप्रति भरोसा राख्दै अघि बढेको बताए। यद्यपि केही व्यक्तिहरूले निर्वाचन नहुने आशंका व्यक्त गरिरहेको उल्लेख गर्दै उनले त्यस्ता धारणा दीर्घकालीन नहुने जिकिर गरे।
दाहालका अनुसार केही समय देखिने अन्योल र हल्ला स्थायी नहुने बताउँदै उनले राष्ट्रिय तथा वामपन्थी शक्तिलाई एकीकृत गर्ने प्रमुख राजनीतिक शक्ति नेपाली कम्युनिष्ट पार्टी नै भएको दाबी गरे।