आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News गौरमा उत्पन्न तनावपछि कर्फ्यु अवधि थपियो

गौरमा उत्पन्न तनावपछि कर्फ्यु अवधि थपियो

91

रौतहट, १० फागुन — जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यु आदेश जारी राख्ने निर्णय गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी भुसालद्वारा जारी सूचनाअनुसार अत्यावश्यक कार्यका लागि आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यु केही खुकुलो पारिएको छ। तर साढे ८ बजेपछि अर्को आदेश जारी नभएसम्म पुनः कर्फ्यु लागू रहने बताइएको छ।

यसअघि शनिबार दिउँसो १ बजेदेखि लागू गरिएको कर्फ्यु आइतबार बिहान साढे ६ बजेसम्म निरन्तर रहने व्यवस्था गरिएको थियो। त्यसपछि अत्यावश्यक कामका लागि दुई घण्टा सहुलियत दिइए पनि साढे ८ बजेदेखि फेरि पूर्ण रूपमा कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।

शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएको थियो । उक्त विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।    सो विवाद चर्किँदै हिंसात्मक रूप लिएपछि झडप भएको र सुरक्षा संवेदनशीलता बढेपछि प्रशासनले कर्फ्यु जारी गरेको हो।
प्रशासनले स्थानीयलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।