बुटवल, ९ फागुन — प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा अधिकारीहरूलाई आवश्यक तयारी सुदृढ बनाउन निर्देशन दिनुभएको छ।
बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रधानमन्त्री कार्कीले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिँदै निर्वाचन बिथोल्न खोज्ने गतिविधिमाथि निगरानी बढाउन आग्रह गर्नुभयो। निर्वाचन मिति नजिकिँदै जाँदा केही स्थानमा देखिएका छिटपुट घटनाप्रति चासो व्यक्त गर्दै उहाँले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थामा केन्द्रित रहन निर्देशन दिनुभयो।
बैठकमा प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, नेपाली सेनाका पृतनापति हिम्मत बहादुर बिष्ट तथा रूपन्देही जिल्ला, कपिलवस्तु जिल्ला, नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला र पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सुरक्षा बैठकपछि प्रधानमन्त्री कार्की लुम्बिनी भ्रमणमा जानुभएको जनाइएको छ।