पिपरा, पर्सा ९ फागुन — नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुङटालाई पर्सा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पिपरामा स्थानीयबासीले भव्य स्वागत गरेका छन्। चुनावी अभियानका क्रममा उहाँको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप उत्साहपूर्ण बनेको हो।

पिपरा वडा नं. १४ का बुथ सभापति बिसेश्वर प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। वीरगन्ज महानगरपालिका अन्तर्गत पर्ने पिपरा क्षेत्रमा आज चुनावी गतिविधि उल्लेखनीय रूपमा बढेको देखिएको छ।
घरदैलो अभियानमा सहभागी हुन पुगेका पर्सा क्षेत्र न. १ को उम्मेदवार रुङटालाई स्थानीयले फूलमाला, अबिर र आत्मीय शुभकामनासहित स्वागत गर्दै समर्थन जनाएका थिए। प्रचार–प्रसार केन्द्र उद्घाटनसँगै उहाँले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादलाई तीव्रता दिनुभएको जनाइएको छ।

स्थानीय युवाको सक्रिय सहभागितासहित आयोजित कार्यक्रममा सयौं नागरिकले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए। कार्यक्रममा सहभागीहरूले फूलमाला र अबिरसहित स्वागत गर्दै क्षेत्रीय विकासप्रति आशा व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै रुङटाले पिपराको समग्र विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै समान अवसर र समावेशी विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। सहभागीहरूले “हाम्रो नेता, हाम्रो गौरव” भन्ने नारासहित विकासको यात्रामा सँगै अघि बढ्ने अठोट व्यक्त गरेका थिए।
यसैबीच स्थानीय नेताहरूले गगन थापाको सक्रिय नेतृत्व र स्पष्ट दृष्टिकोणका कारण पार्टीप्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताएका छन्।
रुङटाले पर्सा क्षेत्र नं. १ का मतदाताबाट अत्यधिक मतसहित विजयी हुने विश्वास व्यक्त गर्दै जनताको साथ, समर्थन र सुझावलाई सम्मानका साथ आत्मसात् गरी निरन्तर जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
