काठमाडौँ, ९ फागुन – आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ। सरकारले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने उद्देश्यले सीमा नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो।
सरकारी निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते रातिदेखि सीमा नाका बन्द गरिनेछ। सम्बन्धित सुरक्षा निकायका अनुसार सीमा नाका ७२ घण्टासम्म पूर्ण रूपमा बन्द रहनेछ भने फागुन २१ गते रातिबाट पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।
सीमा नाका बन्द गर्ने निर्णयसँगै सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको निगरानीसमेत बढाइने भएको छ। खुला सीमा क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै निर्वाचनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने सरकारी तयारी रहेको प्रशासनले जनाएको छ ।