वीरगन्ज, ८ फागुन — वीरगन्ज महानगरपालिका अन्तर्गत रानीघाट र श्रीपुर क्षेत्रमा शुक्रबार चुनावी माहोल उत्साहित देखिएको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटा घरदैलो कार्यक्रममा सहभागी हुन पुग्दा स्थानीय बासिन्दाले फुलमाला, अबिर लगाई शुभकामनासहित भव्य स्वागत गरेका हुन्।

घरदैलो कार्यक्रमसँगै प्रचार–प्रसार केन्द्र उद्घाटन गर्दै उम्मेदवार रुङटाले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभयो। उहाँले विकास, रोजगारी र शिक्षालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो।

कार्यक्रमका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको स्थानीय नेताहरूले बताएका छन्। उम्मेदवार रुङटाले युवाहरूको साथ र समर्थनले आफूलाई अझ जिम्मेवार र दृढ बनाएको बताउँदै रोजगारी सिर्जना, सीपमूलक तथा गुणस्तरीय शिक्षाको विस्तार, उद्यमशीलताको प्रवर्द्धन, दिगो पूर्वाधार विकास तथा सर्वसुलभ स्वास्थ्य सेवाको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो।
समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चितता आफ्नो मूल एजेन्डा रहेको उल्लेख गर्दै रुन्गटाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गरी परिवर्तनको अभियान सफल बनाउन मतदातासमक्ष आग्रह गर्नुभयो।
स्थानीय नेताहरूका अनुसार गगन थापा को सक्रिय नेतृत्व र स्पष्ट दृष्टिकोणपछि पार्टीप्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको बताइएको छ। उम्मेदवार रुङटाले रानीघाट र श्रीपुरसहित पर्सा क्षेत्र नं. १ का मतदाताबाट अत्यधिक मतसहित विजयी हुनेमा आफू विश्वस्त रहेको बताउँदै जनताको साथ, समर्थन र सुझावलाई उच्च सम्मानका साथ आत्मसात् गर्दै निरन्तर जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
