आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगंज माइस्थानमा नेपाली कांग्रेस उम्मेदवार रुङटाको घरदैलो कार्यक्रम सम्पन्न

वीरगंज माइस्थानमा नेपाली कांग्रेस उम्मेदवार रुङटाको घरदैलो कार्यक्रम सम्पन्न

85

वीरगञ्ज, ८ फागुन — नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङटा ले वीरगञ्ज महानगरपालिका–७ अन्तर्गत माइस्थान क्षेत्रमा उत्साहपूर्ण घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

प्रचार–प्रसार केन्द्र उद्घाटनसँगै सुरु गरिएको कार्यक्रममा उनले स्थानीय वडावासीसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराएका थिए भने घरदैलोका क्रममा मतदाताबाट आत्मीय स्वागत र शुभकामना प्राप्त गरेका थिए।

कार्यक्रममा बोल्दै रुङटाले युवाको साथ र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चितता आफ्नो मूल एजेन्डा रहेको बताउँदै उनले आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गरे। वडा नं. ७ का बुथ सभापति सुरेश कुमार गुप्ता को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नेताहरूले गगन थापा को नेतृत्व भूमिकापछि पार्टीप्रति युवाको आकर्षण बढेको धारणा व्यक्त गरेका थिए।

रुङटाले वडा नं.७ सहित क्षेत्र नं. १ का मतदाताले अत्यधिक मतले विजयी गराउनेमा आफू विश्वस्त रहेको जनाउँदै जनताको साथ, समर्थन र सुझावलाई सम्मानपूर्वक ग्रहण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् |