काठमाडौं, ७ फागुन — सरकारले निर्वाचन प्रचार–प्रसारका क्रममा उम्मेदवारहरूले छत खुला रहने गरी प्रयोग गरिने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ। उम्मेदवारहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको बताइएको छ।
बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले उक्त निर्णयबारे जानकारी दिएकी हुन्। उनका अनुसार प्रचारका क्रममा खुला छत भएको सवारी साधन प्रयोग गर्दा उम्मेदवारहरूको सुरक्षामा जोखिम बढ्ने देखिएकाले रोक लगाउने निर्णय गरिएको हो।
बैठकमा राजकुमार श्रेष्ठ, दान बहादुर कार्की, राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाल सेनाका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा आगामी निर्वाचनसँग सम्बन्धित सुरक्षा अवस्था, प्रचार गतिविधि तथा समग्र तयारीका विषयमा समेत थप छलफल भएको गृह मन्त्रालयले जनाएको छ।