काठमाडौं, ५ फागुन — नेपाली कांग्रेसका सभापति एवम सर्लाही क्षेत्र न. ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र ‘डिजिटल हब’का रूपमा स्थापित गर्ने महत्वाकांक्षी खाका सार्वजनिक गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधि क्षेत्रमा साना तर रणनीतिक सुधारले पनि ठूलो आर्थिक रूपान्तरण सम्भव रहेको विश्वास व्यक्त गरे।
केही समयअघि कीर्तिपुरमा आयोजित एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना र ट्रोलको विषय बनेका थापाले उक्त धारणा हावादारी नभई योजनाबद्ध सोचका आधारमा राखिएको स्पष्ट पारे। उनले अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका केही साना नीतिगत सुधारहरूले सकारात्मक परिणाम देखाएको उदाहरण दिँदै अब थप संरचनागत र दीर्घकालीन सुधार आवश्यक रहेको बताए।
थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’का रूपमा अघि बढाउने लक्ष्य लिएको जानकारी दिए। उनका अनुसार पाँच वर्षभित्र करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने सम्भावना रहेको छ। उक्त योजनाअन्तर्गत २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने तथा ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य राखिएको छ।
नीतिगत स्थायित्वलाई प्राथमिक शर्तका रूपमा औंल्याउँदै थापाले स्थिर कर नीति आवश्यक रहेको बताए। साथै सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न ‘ट्यालेन्ट हब’ स्थापना गर्ने, सार्वजनिक–निजी साझेदारी (एएए) मोडलमार्फत पूर्वाधार र लगानी विस्तार गर्ने तथा अनुसन्धान–नवप्रवर्तनलाई प्रोत्साहन गर्ने योजना अघि सारे।
उनले नेपाल अब फ्रिल्यान्सिङ र बीपीओ सेवामा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन विकास र निर्यातमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे। स्वदेशी प्रविधि र उत्पादनलाई सरकारी प्राथमिकतामा राखेर प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले यसले आन्तरिक बजारलाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गरे।
सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि सार्दै थापाले ‘डिजिटल नेपाल’को लक्ष्य हासिल गर्न दीर्घकालीन राजनीतिक प्रतिबद्धता र नीतिगत निरन्तरता अनिवार्य हुने बताएका छन्।