पोखरा, ४ फागुन – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग तत्काल फिर्ता नलिने निर्णय गरेको छ।
अदालतका स्रेस्तेदार रजन खनालले भने, “अभियोग संशोधनका लागि सरकारी वकिलको कार्यालयले पेश गरेको निवेदनमाथि सुनुवाइ गर्दा न्यायाधीश नीतीश राईको इजलासले भनेको छ कि, महान्यायाधिवक्ताको कार्यालयले अभियोग फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको नतिजा आउनुपर्छ। त्यसपछि मात्र यस विषयलाई इजलासमा पेश गर्ने आदेश दिइएको हो।”
यसअघि, महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो।
यो मुद्दा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित छ। लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि रहेको बताइएको छ।