धरान, ५ फागुन — प्रहरीले धरानबाट ९ सय ५५ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार राति धनकुटाबाट धरानतर्फ आउँदै गरेका दुई वटा पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडीबाट ४ सय ९५ केजी गाँजा बरामद गरिएको छ। त्यसैगरी चन्द्रागिरि नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नम्बरको पिकअप गाडीबाट ४ सय ६० केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजा र सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।