आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News निर्वाचन आयोगमा उजुरी: पर्सा ३ का नेकपा एमाले उम्मेदवार रुपेश पाण्डेलाई ७ दिने स्पष्टीकरण

निर्वाचन आयोगमा उजुरी: पर्सा ३ का नेकपा एमाले उम्मेदवार रुपेश पाण्डेलाई ७ दिने स्पष्टीकरण

114

वीरगञ्ज, ४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डे को उम्मेदवारी खारेज हुन सक्ने अवस्था देखिएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ले पाण्डेविरुद्ध निर्वाचन आयोग मा उजुरी दर्ता गराएपछि प्रक्रिया अघि बढेको हो। बैंकका अनुसार पाण्डे तथा उनको कम्पनी आ.पी.ट्रेड प्रा.लि. ले करिब २० करोड रुपैयाँ कर्जा नतिरेपछि कर्जा सूचना केन्द्र ले माघ १८ गतेदेखि उनलाई कालोसूचीमा राखेको छ।

उजुरीपछि आयोगले पर्सा–३ का निर्वाचन कार्यालयलाई छानबिन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ। निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरण दिन पत्र काटिएको छ। निर्धारित समयभित्र कर्जा चुक्ता भएको आधिकारिक प्रमाण पेश गर्न नसके उम्मेदवारी खारेजका लागि आयोगमा सिफारिस गरिने जनाइएको छ।

यता पाण्डेले भने आफूले केही रकम तिरिसकेको दाबी गर्दै विषयलाई ‘मिडियाबाजी’ भनेका छन्। तर सोमबारसम्म कर्जा सूचना केन्द्रको अभिलेखमा उनको नाम कालोसूचीमै रहेको बताइएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुन्छ। यस कारण पाण्डेको चुनावी भविष्यबारे अन्तिम निर्णय अब निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट हुने छ।