आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आगामी निर्वाचनका लागि भारतद्वारा तेस्रो खेप सहयोग हस्तान्तरण

आगामी निर्वाचनका लागि भारतद्वारा तेस्रो खेप सहयोग हस्तान्तरण

२७० भन्दा बढी सवारी साधन तथा सामग्री नेपाल सरकारलाई उपलब्ध, सेनाका लागि ५० ट्रक हस्तान्तरण

99

काठमाडौं, २९ माघ- आगामी फागुन २१ गते हुन् गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपलब्ध गराएको छ। काठमाडौंस्थित गृह मन्त्रालयमा बिहीवार आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई २ सय ७० भन्दा बढी सवारी साधन तथा अन्य सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।

नेपाल सरकारले निर्वाचन तयारीका लागि अनुरोध गरेअनुसार भारतले उक्त सहयोग उपलब्ध गराएको हो। हस्तान्तरण गरिएका सामग्रीमध्ये नेपाली सेनाका लागि ५० वटा ट्रक समेत रहेका छन्। ती ट्रकहरू प्रधान सेनापति महारथी अशोकराज सिग्देलले राजदूत श्रीवास्तवबाट ग्रहण गर्नुभएको थियो।

सहयोग ग्रहण गर्दै गृहमन्त्री अर्यालले समयमै उपलब्ध गराइएको महत्वपूर्ण सहयोगका लागि भारतीय पक्षप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नेपाल–भारत सम्बन्ध आपसी विश्वास, मित्रता तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको साझा प्रतिबद्धताद्वारा निर्देशित रहेको उल्लेख गर्दै दुई देशबीचको व्यापक सहकार्यको प्रशंसा गर्नुभयो।

यसअघि भारतले पहिलो र दोस्रो खेपमा गरी ३१० भन्दा बढी सवारी साधन तथा अन्य सामग्री क्रमशः माघ ६ र माघ १५ गते हस्तान्तरण गरिसकेको छ। भारतीय राजदूतावासका अनुसार थप सहयोग आगामी दिनहरूमा विभिन्न चरणमा उपलब्ध गराइनेछ।