आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News महोत्तरीमा यात्रुबाहक बस दुर्घटना : १८ जना घाइते

महोत्तरीमा यात्रुबाहक बस दुर्घटना : १८ जना घाइते

70

महोत्तरी, २९ माघ — महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत मडाहा पुल नजिक बिहीबार अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना नाबालक र आठ जना महिला रहेका छन्।

जिल्ला ट्राफिक कार्यालय बर्दिबासका निरीक्षक बाबुराम कार्कीका अनुसार कटारीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ४ ख ५७६ नम्बरको बस सडकदेखि करिब १० फिट तल खसेको हो। बसमा २७ जना यात्रु सवार रहेको जनाइएको छ।

दुर्घटना लगत्तै घटनास्थल पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी बर्दिबास–१ स्थित शुभ स्वस्तिक अस्पताल पुर्‍याएको थियो। सामान्य चोट लागेका केही घाइते उपचारपछि घर फर्किएको निरीक्षक कार्कीले जानकारी दिनुभयो।

अस्पतालका व्यवस्थापक दीपेन्द्र ढकालका अनुसार घाइतेहरूको टाउको, हातखुट्टा र छातीमा चोट लागेको छ। घाइतेहरू अधिकांश कटारी, सर्लाही र धनुषाका रहेका छन्।

गुडिरहेको अवस्थामा बसको स्टेरिङ अकस्मात् फेल हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।