आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कांग्रेस परित्याग गरी पूर्व वडा सदस्यसहित दुई जना एमालेमा प्रवेश

कांग्रेस परित्याग गरी पूर्व वडा सदस्यसहित दुई जना एमालेमा प्रवेश

131

वीरगञ्ज, २६ माघ-  पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिकाका दुई जना नेताहरू नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। वीरगञ्ज वडा नम्बर १ का नेपाली कांग्रेसबाट निर्वाचित पूर्व वडा सदस्य नुरआलम मंसुरी र वडा नम्बर २५ का आमोद पटेलले कांग्रेस परित्याग गर्दै आज नेकपा एमालेमा प्रवेश गरेका हुन्।

नेताहरूले विगतमा कांग्रेसले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाउँदै एमालेमा प्रवेश गरेको बताएका छन्। उनीहरूले एमालेको नीति, सिद्धान्त र विकासप्रति केन्द्रित कार्यक्रमबाट प्रभावित भएर पार्टी प्रवेश गरेको जनाएका छन्।

नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको आयोजनामा आज वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज एवं वीरगञ्ज महानगरपालिकाका प्रथम नगरप्रमुख विजय कुमार सरावगीको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिचारी यादव र विजय सरावगीले एमाले जनताको भरोसाको पार्टी भएको उल्लेख गर्दै नयाँ प्रवेशीहरूलाई पार्टीमा टिका साथै खादा लगाई स्वागत गरे। उनले विकास, सुशासन र समृद्धिको यात्रामा एमाले निरन्तर अघि बढिरहेको दाबी गरे।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका बिचारी यादव, स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले पार्टी संगठनलाई थप मजबुत बनाउँदै आगामी दिनमा जनताका पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।