काठमाडौं, २५ माघ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णीम वाग्लेले रास्वपाले परिवर्तनको मुद्दालाई केन्द्रमा राख्दै युवा सहभागिता उल्लेख्य रूपमा बढाएको बताउनुभएको छ ।
रास्वपा तनहुँ–काठमाडौँ सम्पर्क विभागद्वारा आयोजित ‘बृहत् एवं जेनजी भेला’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पार्टीले पुस्तान्तरण र परिवर्तनको एजेन्डा अघि सारेकाले युवाहरूको आकर्षण बढ्दै गएको बताउनुभयो ।
उहाँका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचन पुस्तान्तरणको निर्वाचन हो । लोकतन्त्रमा स्पष्ट बहुमत आवश्यक पर्ने उल्लेख गर्दै उहाँले रास्वपालाई बहुमतका साथ विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो ।
उपसभापति वाग्लेले हाल रास्वपाको सङ्गठन देशभरका ७७ जिल्ला र ५५० पालिकामा विस्तार भइसकेको जानकारी दिनुभयो । साथै विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ३८ देशमा समेत पार्टीको सङ्गठन विस्तार भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार हाल रास्वपामा देशभर तीन लाख सक्रिय सदस्य रहेका छन् । पार्टीले सुशासन, भ्रष्टाचारविरोधी अभियान, सडक तथा हवाई सञ्जालको विकास, इन्टरनेट सेवा विस्तार र ऊर्जालाई प्राथमिकतामा राखेर काम गरिरहेको वाग्ले ले स्पष्ट पार्नुभयो ।